राती १२ बजे घाम लाग्ने देशको कथा -१- हरिविनोद अधिकारीEntertainment

हरिविनोद अधिकारी - यसपटक नर्वेका वारेमा । युरोपको उत्तरी भेग । राजधानी ओस्लो । आधिकारिक भाषा खासमा नर्वेजियन तर यहाँ बोलिने अरु भाषालाई पनि आधिकारिक नै मानिँदो रहेछ । नर्वेजियनमा बोकमोल र निनोस्र्क र आदिवासी भाषा सामी रहेछन् । अल्पसंख्यक भाषाहरुमा क्भेन फिनिस,रोमानी र रोमानेस रहेछन् । तर पनि धेरै नर्वेजियनहरुले बोल्ने भाषाचाहिँ नर्वेजियन भाषा नै हो । यहाँको जनसंख्या करिब ५४लाख रहेछ । यहाँको प्रतिव्यक्ति आय करिब ६५ हजार अमेरिकी डलर छ ।
हामी विद्यार्थी हुँदा एउटा प्रश्न हाजिरी जबाफमा जहिले पनि सोधिन्थ्यो—राती १२ बजे घाम लाग्ने देश कुन हो ? अर्थात् मध्यरातमा पनि घाम लाग्ने देश कुन हो ? वा वर्षको कुनै बेला घाम नै नअस्ताउने देश कुन हो ? अनि हाम्रो उत्तर बनी बनाउ नै हुन्थ्यो —नर्वे । अनि प्रश्न सोध्ने गुरुबा वा गुरुआमाले ठीक भनेर भन्नुहुन्थ्यो र त्यो समूहले अङ्क प्राप्त गथ्र्यो । पछि आफैँ विद्यार्थीहरुको हाजिरी जबाफको प्रतियोगिता चलाउन थालेँ र त्यही प्रश्न बारम्बार सोधी रहेँ , उत्तर पनि त्यही नै आइरह्यो । मैले पनि ठीक भन्नेलाई अङ्क प्रदान गर्दैरहेँ । अहिले म यतिबेर (२०७६ जेठ १२ गतेदेखि अर्थात् मे महिनाको २६ तारिखदेखि ) नर्वेको राजधानी ओस्लोमा छु । यही बेलामा नै उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१मा ( जुन २० वा २१ वा २२)म ओस्लोमा थिएँ । नभन्दै ओस्लोमा विहान ३ः५३मा त्यो दिन घाम झुल्कियो र राती १०ः५३ मा अस्तायो । मलाई रमाइलो लागेर रातको १२ बजेसम्म नियाली रहेँ तर मज्जाले हिँड्न सक्ने गरी उज्यालो रहीरह्यो । सायद हिँड्न मिल्न उज्यालो रातभर रह्यो किनभने विहानै ३ः५४मा त घाम नै झुल्किसकेको थियो । अर्थात् सुत्ने बेलामा पनि उज्यालो नै थियो र उठ्दा छ झलमल्ल घाम लागेको नै थियो ।

वास्तवमा रातै नपर्ने भनेको नर्वेको उत्तरी क्षेत्र स्भालबार्ड र त्यसभन्दा उत्तरी ध्रुवीय मरुभूमि (जहाँ सदैव हिउँमात्र हुन्छ)क्षेत्रमा रहेछ जहाँ ६ महिना उज्यालो मात्रै र ६ महिना अँध्यारो मात्रै हुने रहेछ । त्यहाँचाहिँ जुनको तेस्रो हप्तामा रात नै नपर्ने हुँदो रहेछ( खासमा १५ अप्रिलदेखि २६अगस्तसम्म दिनमात्र हुने रहेछ) । सायद त्यसैलाई नै मध्यरातमा घाम लाग्ने देश भनेर भूगोलमा भनिएको रहेछ । हामीले प्रवेशिका परीक्षा दिने बेलामा भूगोल विषय लिनेलाई एउटा प्रमाणसहितको व्याख्यात्मक उत्तर लेख्ने प्र्रश्न पनि आउँथ्यो —नर्वेमा किन मध्यरातमा घाम लाग्छ ? हामी उत्तरी धु्रवको कुरा त लेख्थ्यौँ तर अहिले यहीँ आएर रातको ११ बजे पनि उज्यालो भएको देखेपछि विश्वास लाग्यो प्रकृतिको लीलाका वारेमा । सायद अक्टुबरको २६ देखि फेबु्रअरी १४सम्म रातमात्र पर्दोरहेछ ।यसैलाई हाम्रा पुर्खाले शास्त्रमा पितृलोकमा ६महिना रात र ६ महिना दिन हुन्छ भनेका रहेछन् । दक्षिणी धु्रव र उत्तरी धु्रवमा ठीक त्यस्तै हुन्छ ।

अनि अर्को कुरा पनि थाहा भयो ओस्लोमा । ५० वर्ष अघि नर्वेले यहाँको विकास निर्माणमा नेपाली श्रमिकको माग गरेको रहेछ । तत्कालीन राजा महेन्द्रले श्रमिकको पारिश्रमिक राजदरबारमार्फत् दिनु पर्ने भनेकोमा नर्वे सरकारले पारिश्रमिक श्रमिकलाई नै दिने भनेपछि नेपालबाट श्रमिक आएनछन् । पाकिस्तानले श्रमिक पठाएको रहेछ । नर्वेको विकासमा पाकिस्तानी मूलका नर्वेजियनहरुको महत्वपूर्ण योगदान मानिँदो रहेछ र ओस्लो सहरको मध्यभागमा रहेको ग्रोनल्यान्ड भन्ने ठाउँमा उनीहरुको खास बसोबास रहेछ । २० जुनका पाकिस्तानी मूलका मानिसहरुले आफ्नो नर्वे प्रवेशको आधा शताब्दी मनाएका थिए ।

२१ जुनमा नर्वेको राजधानी ओस्लोमा भिन्न यौनिक पहिचानका व्यक्तिहरुको सम्मानमा झन्डै एकलाख जत्ति मानिसहरुको परेड थियो । विदाको दिन परेकाले पनि होला र पुरुषगामी पुरुष, महिलागामी महिला, दोहोरो यौनिक क्रियाकलापमा संलग्न, लिङ्ग परिवर्तन गरेकाहरु र तेस्रो लिङ्गीहरुको जुलुस निस्किएको थियो । प्रहरीको ब्यान्ड, सैनिक ब्यान्ड, हजारौँ ओस्लोबासीहरुले उनीहरुसँगै उनीहरुको सम्मानमा ओस्लोको विभिन्न भागबाट जुलुस निकाली ओस्लो सेन्ट्रममा जम्मा भई समानताको हकका पक्षमा नारा लगाइएको थियो जसलाई ओस्लो प्राइड परेड भनिएको थियो । एकहप्ते कार्यक्रमको आज समापन रहेछ । १९८२देखि गे दिवस मनाइएकोमा २०१४ देखि प्राइड परेड गर्न थालिएको रहेछ ।

जेठको १४ गते अर्थात् मे महिनाको २८ तारिखमा हामी नर्बेको राजधानी ओस्लो स्थित राजदरबार हेर्न गयौँ । हामी अर्थात् म, मेरी पत्नी देवकी अधिकारी, मेरी छोरी अर्चना , ज्वाईँ नवराज सापकोटा र सानी दुई वर्षकी नातिनी अदिति । राज दरबारका वरिपरि हजारौँ पर्यटक तथा नर्बे बासीहरु घुमी घुमी दरबार र त्यसका वरिपरिको बगैँचा हेरिरहेका थिए । त्यहाँ कुनै बार , बन्धन तथा पर्खाल थिएन । दरबार सुरक्षार्थ खटिएका महिला सेनाको परेड चलिरहेको थियो । सायद ती नयाँ भर्नाका सेना हुन् या अनिवार्य सेनाको प्रशिक्षणका लागि खटिएका युवतीहरु हुन् , स्पष्ट भएन किनभने त्यहाँ कुनै त्यस्तो जानकारी दिने मानिस भएजस्तो लागेन । एउटा समूह जाँदै थियो र अर्को समूहले त्यसको सट्टा आउँदै थियो जस्तो लाग्यो ।

नर्बेको राजदरबार जहाँ सेनाको परेड चलिरहेको छ र नजिकैबाट फोटो खिच्न पाइन्छ ।
सुरक्षाको प्रवन्ध पक्कै थियो होला र त सेनाका टुकडीको व्यवस्था गरिएको होला , पुरुष र महिलाको समेत । राजदरबार भनेपछि हामीलाई पुरानै राजाको बेलाको याद आउँछ । सुरक्षा कस्तो भने राजदरबारको बाटो भएर पनि हिँड्न पाइँदैन थियो । राजा औपचारिक भ्रमणमा जानेभन्दा दुई घण्टा पहिलेदेखि नै सुरक्षार्थ खटिएका प्रहरी र सेनाको गस्ती सुरु हुन्थ्यो । सेना त स्थिर अवस्थामा उभिएका हुन्थे केही मिटरको दूरीमा तर प्रहरीले कहिले यताबाट जा, कहिले उताबाट जा भनेर लखेट्थ्यो । त्यस्तो सुरक्षा देखिएको नेपालमा , जुन अहिले राष्ट्रपतिको सबारीमा पनि देख्न पाइन्छ । त्यस्तो देशबाट गएको मानिसलाई दरबारको मुख्य प्रवेश द्वारमा बसेका गार्डले समेत सँगै बसेर फोटो खिचाउन दिने भनेको सुरक्षाको प्रवन्ध यस्तो देखिन्छ कि विश्वासभन्दा र मानिसहरुप्रति देखाइने आस्थाभन्दा ठूलो सुरक्षाको प्रत्याभूति अरु हुने रहेनछ ।

र अन्त्यमा , राजधानी ओस्लो हरित सहर रहेछ । एकप्रकारले जङ्गलभित्रै छ सहर भनेजस्तै । जताततै पार्क रहेछन् । बालबालिका, वृद्ध तथा युवायुवतीहरु पार्कमा रमाइरहेका देख्न पाइन्छ । स्कुटी भन्ने लौरोजस्तो विजुली साइकलको धेरै प्रचलन रहेछ । साइकल पनि उत्तिकै चल्तीमा रहेछ । बाटाबाटामा सरकारले नै साइकल भाडामा राखेको देखिन्छ । प्रायशः मानिसहरुले कुकुर पालेका देखिन्छन् । एउटा कुरा भने राम्रो लागेन—प्रायशः ओस्लोबासीहरु चुरोट खाँदा रहेछन् चाहे ती पुरुष, महिला या अन्य । पसलहरुमा भाउ फरक फरक हुने, कुनै नियन्त्रण रहेनछ । नियन्त्रण भनेको उपभोक्ताको इच्छामा भर पर्ने रहेछ । सहरको बीचमा भागमा बु्रगाता भन्ने ठाउँमा मनोविषाद भएकाहरुका लागि गाँजा सरल मूल्यमा वितरण गर्ने ठाउँ रहेछ जुन घर पहेँलो रङका रहेछन् । सायद सरकारले मनोविषादका रोगीहरुलाई पहिचान गरेको होला । तर त्यहाँका जानिफकारहरुले भनेका सुनेँ—खासगरी वृद्धाश्रममा बस्ने मनोविषादले ग्रस्त वरिष्ठ नागरिकहरुलाई सहजीकरणका लागि दिइने गरिन्छ । स्पष्ट थाहा भएन—मूल्य लिएर दिइन्छ कि सित्तैमा ? कस्तालाई प्राथमिकतामा राखिन्छ तर त्यहाँ बाँडिन्छ किनभने मानिसहरु ढोकाभित्रका प्रहरी जस्ता देखिने मानिसहरुसँग केही लिइरहेका देखिन्छन् । सायद ओखतीको रुपमा विषादबाट मुक्त हुनका लागि गाँजाको कुनै परिमाण उपलब्ध गराइको होला ।

ओस्लो सहर महङ्गो रहेछ । खानाका लागि भन्दा पनि कोठा भाडा साह्रै नै महङ्गो रहेछ । विद्यार्थीहरुका लागि भने होस्टेल केही सस्तोमा पाइँदो रहेछ किनभने नेपालमा स्नातकोत्तर तहमा पढेको मेरो विद्यार्थी मिसर लामिछाने पनि त्यस्तै होस्टेलमा बसेका रहेछन् । धेरै नेपाली विद्यार्थीहरु ओस्लोमा रहेछन् । कतिपय आम सञ्चार तथा पत्रकारिता पढ्दैछन् त कति विज्ञान वा मानविकी तथा सामाजिक शिक्षा र शिक्षा विषयमा । कतिपय अंग्रेजी विषयमा , वाणिज्य विषयमा पनि पढ्दैछन् । द्वन्द्व व्यवस्थापन सम्बन्धी शिक्षा त यहाँको प्रख्यात नै छ । र सबैभन्दा घतलाग्दो कुराचाहिँ यत्ति धनी मानिसहरुको बस्तीमा घमन्डी चाहिँ देखिँदैनन् , सबै सहयोगी र सहजीकरण गर्न तयार रहने बानी देखिन्छ । (क्रमशः)


लेखकको अनुमतिमा HarekPal.com बाट

Search