डेनमार्क बाट नेपाली दुतावास हटाउन प्रस्तावSociety

सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो ।

२१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क लगायत क्यानडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको छ । त्यस्तै, टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ ।

विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । सबै महादेश, विकास साझेदार मुलुक, शक्तिराष्ट्र, श्रम गन्तव्य मुलुकमा नेपालको दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा छैन ।

देशबाहिर कति छन् कूटनीतिक कर्मचारी ?
परराष्ट्रका जम्मा १४८ दरबन्दीमध्ये विदेशमा १३३ कर्मचारी कार्यरत छन् । चार सहसचिव, २८ उपसचिव, ४८ शाखा अधिकृत र ५३ नासु कार्यरत छन् । अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा सात प्रदेशमा जम्मा १० अधिकृत गरी जम्मा १५८ दरबन्दी छ । परराष्ट्रबाहिरका जम्मा ४३ कर्मचारी पनि देशबाहिर नियोगहरूमा कार्यरत छन् । यीमध्ये सहसचिवस्तरीय १६, उपसचिव ११, शाखा अधिकृत ११, नासु पाँच छन् । सहसचिवमध्ये महावाणिज्यदूत पाँच, मिनिस्टर इकोनोमिक पाँच, सैनिक सहचारी सात, प्रहरी अधिकृत एक र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत एकजना छन् ।

दूतावास हटाउन प्रस्ताव गरिएका देश
कार्यदलले डेनमार्कस्थित दूतावास हटाउन भनेको छ । उसले २०१७ देखि नेपालस्थित दूतावास हटाएको छ र नेपाललाई विकास सहायताको प्राथमिकताबाट समेत हटाएकाले पुनर्विचार गर्न कार्यदलको सुझाब छ । कोपनहेगनबाट नेपाली दूतावास फिनल्यान्ड वा नर्वे सार्न सुझाब दिएको छ । डेनमार्कमा नेपालीको संख्या पनि पाँच हजार मात्रै छ । डेनमार्कमा हाल तीनजना कूटनीतिक कर्मचारी छन् ।

स्पेनको दूतावासमा कार्यबाहक राखेर भविष्यबारे निर्णय लिनुपर्ने कार्यदलको सिफारिस छ । सन् २०१७ मा नेपाली दूतावास स्थापना भएको स्पेनमा हाल राजदूत छैनन् । त्यहाँ दूतावासको औचित्य नभएको कार्यदलको ठहर छ ।

दक्षिण अफ्रिकामा कार्यबाहक स्तरमा पर्ख र हेरको अवस्थामा राख्नुपर्ने सुझाब कार्यदलले दिएको छ । अफ्रिका महादेशमा प्रतिनिधित्वका लागि उपस्थिति रहे पनि यसबारे पछि निर्णय लिनुपर्ने सिफारिस गरेको छ ।

साउदी अरेबिया, युएई, कतारबाहेक खाडी देशका दूतावासलाई कार्यबाहकस्तरमा राख्नुपर्ने वा महावाणिज्य दूतावासस्तरमा परिणत गर्नुपर्ने सुझाब छ ।
 

क्यानडामा तत्काल कायम राख्ने, तर भविष्यमा पुनर्विचार गर्नुपर्ने जनाएको छ । क्यानडामा ४० हजार नेपाली छन् । नियोगमा तीनजना कूटनीतिक कर्मचारी कार्यरत छन् । डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकामा दूतावास हटाउन तथा टर्की, इटली, केन्या, इन्डोनेसिया, भुटान, माल्दिभ्स, अफगानिस्तान र सिंगापुरमा थप्न पुनरावलोकन कार्यदलको प्रस्ताव अगाडि बढाएको खबर नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । 


sajhapost.com बाट

Search