रेस्टुराँ व्यवसायी प्रेमबहादुर परियारसंगको भलाकुसारीMarket

हरिविनोद अधिकारीले प्रेमबहादुर परियारसंग गरेको कुराकानीका आधारमा HarekPal.com मा प्रकाशित लेखको एक अंश


कास्कीको पोखरामा पिता जोभाने परियार र माता विभा परियारबाट २०२६साल साउन २६ गते जन्मिनु भएका प्रेमबहादुर परियार अहिले ओस्लोका सोफेनवर्ग पार्क नजिकै स्तुलन क्याफे एन्ड बार चलाएर बस्नु भएको छ । उहाँका पाँच सन्तानमध्ये एउटी छोरीमात्र नेपालमा हुनुहुन्छ । पत्नी शर्मिला परियार र छोरी रञ्जनासमेतको सहयोगमा सञ्चालित रेस्टुराँमा वर्षको ५०लाख नर्वेजियन क्रोनरसम्मको कारोबार हुने कुरा परियार बताउनु हुन्छ । ३५ वर्ष अघि स्थापित हिमालयन उलेन ब्लाङ्केट कम्पनीमार्फत् उद्योग व्यवसायमा सँलग्नता राख्नु भएका परियारले आफ्नो शिक्षाचाहिँ बी एल सम्मको अध्ययन भन्नुहुन्छ ।

आजभन्दा १९ वर्ष अघि घरेलु उद्योगको प्रवद्र्धनको सिलसिलामा युरोपको फ्रान्स आउनु भएका परियार फेरि नेपाल फर्कनुभन्दा युरोपमा नै आफ्नो भाग्य निर्माण गर्नतिर लाग्नुभएको पाइन्छ । फ्रान्स, बेल्जियम हुँदै पोर्चुगालमा बसोबास गर्न थाल्नुभएका परियारले ७ वर्षमा नै पोर्चुगालको नागरिकता पनि लिनुभयो र फेरि आफ्नो भाग्य निर्माणका लागि नर्वे प्रवेश गर्नुभयो । पाकिस्तानी लगानीकर्ताको स्तुलन क्याफे एन्ड रेन्टुराँमा काम गर्दागर्दै सो रेस्टुराँ करिब दुई वर्षसम्म बन्द रह्यो र २०१६मा सोही रेस्टुराँ खरिद गरेर अहिले पनि त्यही स्थानमा सञ्चालन गर्दै हुनुहुन्छ । व्यवसायका लागि किन रेस्टुराँ नै रोज्नु भयो त भन्ने मेरो प्रश्नमा उहाँ भन्नुहुन्छ—त्यही काममा विज्ञता हासिल गरियो सुरुदेखि नै , अनि पहिले आफूले काम गरेको सँस्थामा नै काम गर्ने विचारले यही रेस्टुराँ व्यवसाय नै रोजेँ ।

परियारको विचारमा नर्वे नै रोज्नुको कारण हो—यहाँ समानता छ, सामाजिक सुरक्षाको राम्रो प्रत्याभूति छ , शिक्षा र स्वास्थ्यमा सरकारको पूर्ण सुरक्षा प्राप्त छ र यहाँ कुनै प्रकारको विभेद छैन ।

नेपाल पत्रकार महासंघ, युरोप महादेशीय संरचनामा केन्द्रीय सदस्यसमेत रहनु भएका ऐक्यबद्धता मासिकका नर्वे प्रतिनिधि परियार आफूलाई पत्रकार भन्न पनि रुचाउनु हुन्छ र अब आफू नियमितरुपमा स्तम्भ लेखनका लाग्ने कोसिसमा रहेको बताउनु हुन्छ । उहाँ छिटै नर्वेबाट नेपालीमा पत्रिका निकाल्नका लागि नर्वेमा पत्रकारितामा स्नातक तथा स्नातकोत्तर या विद्यावारिधिमा अध्ययन गरिरहने र पत्रकारितामा चासो राख्ने साथीहरुसँग मिलेर काम गर्ने व्यवस्था गर्न थालेको बताउनु हुन्छ । यसका लागि नेपालका साथीहरुसँग पनि छलफल गरेको कुरा सगर्व बताउनु हुन्छ ।

नर्वेको निर्वाचनमा मतदाताको रुपमा समेत सहभागी भइसक्नु भएका परियार नेपालमा पनि यहाँको जस्तो निर्वाचन प्रक्रिया लागू गर्न पाए नेपाली निर्वाचनमा स्वच्छता कायम हुन्थ्यो कि भन्ने चाहना राख्नुहुन्छ ।

गैर आवासीय नेपाली संघ, नर्वेका सक्रिय सदस्य परियार अवको निर्वाचनमा पनि सक्रियतासाथ सम्पन्न गराउन लागेको बताउनु हुन्छ । यसअघि उपाध्यक्षसम्म हुनुभएका परियारले हालै रद्द भएको निर्वाचन प्रक्रियामा अध्यक्षको प्रत्याशी समेत हुनुहुन्थ्यो । साथीहरुका बीचमा समन्वय गरेर तोकेकै समयमा निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने कुरामा विश्वस्त देखिनु हुन्छ । होटेल व्यवसायी परियार नेपाल फर्केर जान सकिने र आफ्नो विज्ञता होटेलमा नै रहेकोले भविष्यमा पोखरामा रिसोर्ट खोल्ने विचार रहेको बताउनु हुन्छ र सधैँ नेपालको सम्झना आइरहने र नेपालमा केही न केही सामाजिक काम गर्ने इच्छा रहेको बताउनु हुन्छ । नेपाली बहादुर हुन्छन्, नेपाली इमान्दार हुन्छन् र अरुलाई सम्मान गर्दै आफ्नो कर्तव्य पालनामा सदैव दत्तचित्त रहन्छन् भन्ने कुरामा आफ्नू मूलमन्त्र रहेको बताउने परियार नर्वेमा नेपालीहरुको व्यवहारबाट कहीँ पनि कुनै गुनासो नरहेको बताउनु हुन्छ । अर्कोपटक अरु कुनै उद्यमी र नर्वेको वारेमा ।


लेखकको अनुमतिमा HarekPal.com बाट, तस्विर सौजन्य: बिनोद गिरी

Search