कस्तो रह्यो एनआरएनए स्वीडेनको २०१७ - २०१९ कार्यकाल?Society

एनआरएनए एनसीसी स्वीडेनको पाचौ अधिवेशन यहि अगस्ट १७ मा हुदैछ । २०१९-२०२१ को लागि नयाँ कार्यसमिति गठनका लागि महासचिब बाहेक अरु सबै पदमा पदाधिकारीहरु निर्विरोध चयन भैसकेका छन् । निर्वाचन समितिका संयोजक शिव कुमार चम्लागॉइले जारी गरेको सूचनामा २ जना उम्मेदवारहरु अनिल सापकोटा र राजकुमार ओमसन महासचिबका लागि चुनाबी मैदानमा छन् । यस अघिका कार्यकालहरुमा जसले महासचिब पद सम्हालेका थिए, सोहि व्यक्ति अर्को कार्यकालमा अध्यक्ष बनेको उदाहरण भएकाले पनि स्वीडेन महासचिबका पदका लागि हुन लागेको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । एनआरएनए स्वीडेनमा अहिले २६० पंजीकृत सदस्य रहेका छन् ।

यसै सेरोफेरो मा लागि मैले एनआरएनए एनसीसी स्वीडेनका वर्तमान अध्यक्ष तथा आगामी आइसीसी सदस्य अर्जुन श्रेष्ठसंग उनको कार्यकालको उपलब्धि के के रह्यो भनि सोधेको थिएँ । श्रेष्ठले आफ्नो कार्यकालमा गरेका झन्डै ३ दर्जन कार्यक्रमहरु बारेमा बताए ।  

उनले १९ अगष्ट २०१७ मा महाधिबेशनकै दिन उषा गौतमको संयोजकत्वमा ३ सदस्यीय महिला फोरम गठन गरे । यस फोरमको उद्देश्य स्वीडेनमा महिला सशक्तिकरण र नेपालमा रहेका गरिब, असहाय महिलाहरुको उद्दारका लागि ICC Women Forum को च्यारिटी फन्डमा हरेक पंजीकृत सदस्यबाट १ डलरका दरले पठाउनु थियो । त्यस उद्देश्यमा एनआरएनए स्वीडेन सफल भएको छ । त्यस लगत्तै स्वीडेनमा रहेका नेपालीहरुको राहदानी तथा आवश्यक कागजातहरुको समस्या समाधानको लागि राजदुत तथा प्रथम सचिबहरुसंग छलफल गर्न उनी नेपाली राजदुताबास डेनमार्क पुगे ।

उनकै कार्यकालमा रोल्पाको जिनावाङ्ग घोप्टेओडारमा अबस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा २ कोठे पक्कि हस्तान्तरण भयो । यधपी निर्माण थालनी भने (२०१५-२०१७) मा भएको थियो जतिबेला श्रेष्ठ महासचिब थिए । विद्यालय हस्तान्तरण गर्न आगामी अध्यक्षका प्रत्याशी कुमार पन्त लगायत आइसीसीका पदाधिकारी रोल्पा पुगेका थिए । सोहि दिन विद्यालयमा अध्ययनरत ५३ जना द्वन्द्वपिडित अपाङ्ग, टुहुरा, असहाय तथा जेहेन्दार बिद्यार्थीलाई अध्ययन खर्च जुटाउन एनआरएनए स्वीडेनले चाइल्ड टु चाइल्ड सम्झौता गर्यो । सो सम्झौता बमोजिम हाल सम्म गरेर ७ लाख ५४ हजार रुपैया रोल्पा पठाईसकेको जानकारी श्रेष्ठले दिए । 

त्यस्तै रुकुमको बाफिकोटमा एनआरएनए स्वीडेनको सहयोगमा निर्मित स्वास्थ्य प्रयोगशाला भवनको लागि १० लाख रुपैया जम्मा हस्तान्तरण गरिसकिएको श्रेष्ठले बताए । यी लगायत तराईका बाढी प्रभावितलाई राहत स्वरुप २ लाख, बाग्लुङ्ग-पर्वत मोदी बेनीघाटमा अबस्थित बृदाश्रमलाई प्रविन श्रेष्ठको नेतृत्वमा जम्मा भएको २ लाख ७ हजारमा एनआरएनए स्वीडेनको ५० हजार सहयोग, बारा-पर्सा जिल्लाका आधीहुरी प्रभावितलाई राहत स्वरुप ५३ हजार ५ सय रुपैया सहयोग जुटाउन एनआरएनए स्वीडेन सफल भएको छ ।
 
सहयोग संकलनका साथै नेपालको कलासंस्कृति र पर्यटन प्रवर्धनका लागि पनि एनआरएनए स्वीडेन उत्तिकै सक्रिय छ । Visit Nepal 2020 को प्रवर्धनका लागि Run For Nepal कार्यक्रम आयोजना गरि करिब ६० हजार रुपैया सहयोग संकलन गरेको थियो । त्यस्तै स्वीडेनको राष्ट्रिय दिवशको अवसर पारेर Skarpnäck Kulturhuset ले आयोजना गरेको कार्यक्रममा एनआरएनए स्वीडेन सहभागिता जनाई नेपालको कला संस्कृति, रितिरिवाजको र भेषभुषाको प्रदर्शन गरेको थियो । सो सहभागितामा उत्कृष्ट प्रदर्शनी स्वरुप करिब ३५ हजार रुपैया प्राप्त भएको श्रेष्ठले जानकारी दिए ।

एनआरएनए स्वीडेनले दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई लक्षित गरि ज्ञानमुलक हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो । हाजिरी जवाफका प्रश्नहरु नेपालको इतिहास, कला संस्कृति, रिति रिवाजको, भेषभुषा, प्राकृतिक सम्पदाका बारेमा भएकाले दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुले नेपालको बारेमा धेरै जान्ने मौका पाएको श्रेष्ठको दाबी छ ।

एनआरएनए स्वीडेनको यी उपलब्धिहरु आफू एक्लैले भन्दा पनि टिमको मेहेनेत, सदस्य/गैरसदस्य, तथा स्वीडेनमा रहेका नेपालका शुभचिन्तक सबै जनाको साथ र विश्वासले गर्दा हासिल भएको श्रेष्ठ बताउछन् । उसो त श्रेष्ठले आफ्नो नियमित कामबाट २ वर्ष विदा लिएर एनआरएनए स्वीडेनको प्रवर्धनको लागि होमिएका थिए । रुकुमको बाफिकोटमा निर्माण सम्पन्न कुल २९ लाख लागतको स्वास्थ्य प्रयोगशाला भवनको श्रेष्ठ स्वयमले १ लाख सहयोग गरेका थिए । उनले आगामी योजनाको बारेमा सोध्दा श्रेष्ठ भन्छन, "स्वीडेन, नर्वे, डेनमार्क र फिनल्याण्डमा रहेका एनआरएनए एनसीसीहरुसंगको समन्वयमा नेपालमा र नोर्डिक क्षेत्रमा प्रभावकारी काम गर्ने इच्छा छ ।" एउटा गाउँको विधालयको शिक्षक देखि एनआरएनए स्वीडेनको अध्यक्षसम्मको उनको यात्रा छिट्टै TheNewsFromNorthShow मा प्रसारण गर्नेछौ ।

एनसीसी स्वीडेनका वर्तमान अध्यक्ष तथा आगामी आइसीसी सदस्य अर्जुन श्रेष्ठसंगको कुराकानी पछि एनआरएनए स्वीडेनका पुर्वपदाधिकारी, वर्तमान पदाधिकारी, सल्लाहकार, पत्रकार तथा साधारण सदस्यसंग उनको कार्यकालको बारेमा राय मागेको थिए । वर्तमान आसन्न आइसीसी सदस्य प्रवेश कुवरले  यसअघिका कार्यकाल भन्दा अर्जुन श्रेष्ठको कार्यकाल निकै राम्रो भएको दाबी गरे । आसन्न चुनाबका कारण सबैजनाको प्रतिक्रिया उपलब्ध भएको छैन । सबैजनाको प्रतिक्रिया उपलब्ध प्राप्त हुनासाथ हामी अपडेट गर्नेछौ । 

Search