इन्जिनियर नयन मल्लको नर्वेसंग जोडिएको व्यावसायिक साइनोSociety

हरिविनोद अधिकारीले नयन मल्लसंग गरेको कुराकानीका आधारमा HarekPal.com मा प्रकाशित लेखको एक अंश


एउटा नेपाली नर्वेको अन्तराष्ट्रिय हवाइ मैदानको निर्माणको डिजाइन र त्यसको निर्माणमा प्रत्यक्ष संलग्न रहने भनेको नेपाल र नेपालीका लागि गौरवको विषय हो । नर्वे अहिले विश्वको विकसित देशमात्र नभएर वातावरणको सुरक्षा र प्रबद्र्धनमा समेत विश्वको प्रख्यात देशमा पर्दछ । खुशीको सूचकाङ्कमा विश्वमै तेस्रो मानिएको देश नर्वेको विकसित र प्रविधिजन्य सँस्कारयुक्त देशमा एउटा नेपाली युवा २३ वर्षदेखि नर्वेको सडक र हवाइ मैदानसम्बन्धी काममा खटेर प्रतिष्ठा कमाएको सुन्दा र देख्दा कुनचाहिँ नेपालीलाई खुसी नलाग्ला र ।

ललितपुरको चाकुपाटमा माता कदमकुमारी र पिता कृष्णबहादुर मल्लका कान्छा छोरा नयन मल्ल २०२२ साल जेठमा जन्मनु भएको हो । पहिले सोभियत संघमा पछि युक्रेनमा परेको किभमा इन्जिनियरिङ पढ्दा पढ्दै एउटा पढाइकै सिलसिलाको करिब डेढ महिनाको तालिममा नर्वे आउनु भएका मल्लको तालिम अवधिमा गरेको प्रयोगात्मक कामबाट प्रभावित प्राध्यापकले उहाँलाई किभबाटै ओस्लोमा आउनका लागि प्रेरित गर्नुभयो र सन् १९९६ देखि उहाँ नर्वेमा बसेर काम गरिरहनु भएको छ । नर्वे सरकारको सडक विभागमा बसेर १५ वर्ष काम गरेर वरिष्ठ इन्जिनियरको पदबाट राजीनामा दिनु भएका मल्ल हाल नर्वेको सडक र हवाइ मैदान निर्माणसम्बन्धी एक प्रतिष्ठित कम्पनी नोर कल्सल्टेन्सीको वरिष्ठ इन्जिनियरको पदमा कार्यरत हुनुहुन्छ । उहाँसमेतको एउटा टिमले हालको ओस्लोको अन्तराष्ट्रिय हवाइ मैदान (गार्डिमुन इन्टरनेसनल एयरपोर्ट)को एयर साइड र लाइन साइड दुवै साइडको निर्माणमा प्रत्यक्ष सहभागी बनेको थियो । त्यही हवाइ मैदान जाने बाटोको मुख्य इ —६ बाट छुट्टिएर एयरपोर्टसम्म जाने आर भी १७४ बाटोको भागसमेतको निर्माणमा सहभागी रहनु भएका मल्ल अरु धेरै काम गरे पनि मुख्य यसैलाई मान्नुहुन्छ अहिलेसम्मको आफ्नो पेसाको उपलब्धि ।

ओस्लोबाट स्विडेन जाने बाटोको पहिलो खण्डको करिब २० किलोमिटर भागमा पनि आफ्नो दक्षता देखाउन पाएकोमा उहाँ खुसी हुनुहुन्छ । अबका दिनमा अरु चुनौतीपूर्ण हवाइ मैदान र राम्रा र बलिया सडक बनाउने आफ्नो विज्ञता रहेको उहाँले सगर्व बताउँदा खुसी लागेर आयो । उहाँले गरेका कामहरुको विवरण लामो रहेछ तर आफूलाई समेत सन्तोष लागेको र गर्व गर्न लायकको काम के हो भनेर सोध्दा त्यस्तो उत्तर दिनु भएको हो ।

पाटनको चण्डी विद्याश्रमबाट प्रवेशिका उत्तीर्ण गरेपछि आफ्नै घर छेउको इन्जिनियरिङ अध्ययन सँस्थानमा प्रवीणता प्रमाणपत्र इन्जिनियरिङमा गरेपछि नेपाल सरकारको छात्रवृत्तिमा तत्कालीन सोभियत संघको युक्रेन स्थित किभमा स्नातक तहमा पढ्न आउनु भएका मल्लले पछि त्यहीँबाट नै इन्जिनियरिङमा स्नातकोत्तर गर्नु भएको थियो । सुरुमा आउँदा सोभियत संघमा आउनु भएको मल्ल आफ्नो पढाइ समाप्त हुने बेलामा युक्रेन राज्य भएको बताउनु हुन्छ ।

हवाइ मैदान र राजमार्गको डिजाइन र निर्माणमा विज्ञ नयन मल्ल एउटा मिलनसार , घमन्ड नभएको र सामाजिक काममा लाग्ने प्राविधिक विद्वानको रुपमा ओस्लोमा नेपालीका बीचमा परिचित हुनुहुन्छ । उहाँ जहाँ जानुहुन्छ, आफ्नो लगनशीलता र कार्य दक्षताले सबैको प्रशंसा पाउनु हुन्छ भन्ने कुरा ओस्लोमा रहेको नेपालीहरुको धारणा पाइन्छ ।

उहाँको दाजु डाक्टर नवीन मल्ल नर्वेकै युनिभर्सिटी अफ ट्रम्सोमा वरिष्ठ अनुसन्धाता हुनुहुन्छ, दिदी नगीना मल्ल आर्टिटेक्चर इन्जिनियर हुनुहुन्छ , उहाँकी बहिनी नयनतारा मल्ल नर्वेकै कलेजमा प्राध्यापन गर्नुहुन्छ भने उहाँकी धर्मपत्नी स्मिता मल्ल समुद्रबाट तेल खोज्ने भूगर्भविद् हु्नुहुन्छ । उहाँको छोरो अलेक्जेन्डर मल्ल अहिले विद्यालयमा पढ्दैछन् ।

एउटा नेपाली उच्च विज्ञता प्राप्त गरेको प्राविधिकको रुपमा विकसित देशमा प्रतिष्ठा कमाइसकेको व्यक्तिले किन नेपालमा त्यस्तो विज्ञतालाई प्रयोग गर्नु भएन त भन्ने मेरो प्रश्नमा उहाँको उत्तर थियो — २ वर्ष अघि नेपालको काठमाडौँ स्थित अन्तरराष्ट्रिय एयरपोर्ट निर्माणमा आफ्नो विज्ञता देखाउन भनेर गएको पनि हुँ,तर खोइ के भनौँ, के मिलेन मिलेन, काम भएन र फर्केर आएँ । हेर्नुस्, पारिश्रमिकको कुरा गर्ने हो भने नर्वेमा धेरै आउँछ तर आफ्नो देशमा केही गरौँ भनेर गएको, आउनुस् पनि भनेर गएको तर हाम्रो देशको कर्मचारीतन्त्रको कारणले कुरो मिलेन अनि म फर्केर आएँ । अझै आफ्नो मातृभूमिको सेवा गर्न मन छ , खासगरी सडकमा कसरी जाम कम गर्ने भन्ने मलाई थाहा छ । अझै काठमाडौँमा गाडीको चाप धेरै होइन, बरु ठाउँ ठाउँमा बढी चाप भएको कारणले त्यस्तो जाम भएको हो । वानेश्वर र जमलमा मात्र बाइपास बनाउने हो भने जाम नहुने बनाउन सकिन्छ जस्तो कि हाल कलङ्कीमा बाइपास बनाएपछि जाम कम भएको सुनेको छु । केही सडकहरुको व्यवस्थापन गर्नु पर्छ । पैदल यात्रीहरुका लागि बाटो प्रशस्त दिनुपर्छ अनि सडकमा एकपटकमा एउटा गाडी जानेगरी बाटोको व्यवस्थापन गर्नुपर्छ । बाटो ठूलो बनाएरमात्र हुँदैन, गाडीका लागि बाटोको सही व्यवस्थापन गर्नुपर्छ । हामीलाई त्यो प्रविधि थाहा छ ।अझै मातृभूमिले कामको जिम्मा दिएमा बाटोको व्यवस्थापन गर्ने इच्छा छ र मेरो विज्ञता अनुसारको काम पाउँदा आफ्नो जन्मभूमिको लागि किन नगर्ने र ? गरिन्छ । पैसा भन्दा ठूलो देशको इज्जत र विकास हो ।

उहाँले अझ जोड दिएर भन्नुभयो—काम गर्ने वातावरणचाहिँ बन्नुपर्छ है । आफ्नो देशमा बसेर कसलाई काम गर्ने इच्छा हुँदैन र ? म त्यसै पनि वर्षमा एक वा दुई चोटि नेपाल गइरहन्छु देशकै मायाले त हो नि । नेपालको सडक र हवाइ मैदानको विकासमा केही त गर्नु नै छ , गर्छु पनि परिस्थिति मिलाएर ।

गैर आवासीय नेपाली संघ, नर्वे राष्ट्रिय समन्वय समितिका विभिन्न पदमा रहेर काम गरिसक्नु भएका मल्ल त्यसमा सक्रिय रहनु भएको छ । हाल २०१९—२१का लागि ३१ अगस्टमा हुन लागेको निर्वाचनका वारेमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो— हेर्नुस्, निर्वाचनको सिद्धान्तले हो भने म अध्यक्ष निर्विरोध भइसकेको थिएँ तर साथीहरुले मिलेर जाने कुरा गर्नुभएकोले मैले मानेँ । अहिले मेरो धारणा भनेको सबै मिलेर जाने हो, यो समाजसेवा हो, स्वयंसेवी सँस्था हो । सबैले जे भन्नुहुन्छ या प्रजातान्त्रिक तरिकाले जसरी मिल्छ, म मिलेर जान तयार छु । तर मेरो एउटा कुरा भने स्पष्ट छ, सबैले मिलेर जाने वातावरण भने बनाउनु नै पर्छ । हामी नेपालीहरु जहाँ रहे पनि नेपालका लागि हौँ है भनेर प्रतिबद्धता व्यक्त गर्नका लागि गैर आवासीय नेपाली संघ स्थापना भएको हो, हामी नर्वेमा रहेका नेपालीहरु पनि नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागेका होँ । सबै साथीहरुको चाहनाअनुसार जाउँ भनेर नै मैले अघिल्लो पटकको निर्वाचन प्रक्रिया रद्द गर्ने कुरामा मानेको हुँ । मलाई लाग्छ, सबै कुरा मिल्छ होला र निर्विवादरुपमा समाधान पनि निस्कन्छ होला । मलाई विश्वास छ, हामीले सुरु गरेको सँस्था हो , यसैबाट नेपालको हितमा कसरी बढीभन्दा बढी काम गर्न सकिन्छ भनेर हामी सबै लाग्ने हो , मिलेर जाने हो , मिलेर काम गर्ने हो ।

शालीन व्यक्तित्वका धनी र शान्तरुपमा प्रस्तुत हुने इन्जिनियर मल्ल नेपालको ट्राफिक जामका वारेमा बढी नै चिन्तित हुनुहुन्छ र त्यसको लागि आफूसँग प्रशस्त योजना र कार्यान्वयनको अनुभव भएको बारम्बार दोहोराउनु भएको थियो । सायद अबको नेपाल बसाइमा उहाँले यसबारेमा नेपाल सरकारसँग गैर आवासीय नेपाली संघमार्फत् आफ्ना योजनाहरु प्रस्तुत गर्नुहुनेछ भन्ने आशा लिन सकिन्छ ।


लेखकको अनुमतिमा HarekPal.com बाट, तस्विर सौजन्य: नयन मल्ल

Search