फिनल्यान्डमा बालबालिकालाई कसरी पढाइन्छ, विश्वकै उन्नत शिक्षा पद्धतीSociety

बिष्णु अर्याल - तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् ।

अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरोस् । तब हामीलाई सन्तोष लाग्छ । हामी गर्वले छाती चौडा बनाउँछौ । र, सबैलाईको अगाडि निर्धक्क भन्न सक्छौ, ‘मेरा बालबच्चा पढाईमा तगडा छन् ।’

तर, के पढाईको मानक नै उनले हासिल गर्ने परीक्षाफल हो ?

हाम्रो शिक्षा प्रणालीले मान्दै आएको कुरा चाहि यही नै हो । अर्थात परीक्षा नै त्यो ब्यारोमिटर हो, जसले बच्चाको शैक्षिक दक्षता नाप्छ । यस्तै शैक्षिक परिपाटीमा हुर्किरहेका हाम्रा बालबालिका भोलिका दिनमा चाहि कति सबल, सक्षम होलान् त ?

किनभने हामीकहाँ शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा पनि अर्थ्याउने गरिन्छ । घोकन्ते शिक्षाको जगमा उभिएका विद्यार्थीहरु भोलिका दिनमा असक्षम सावित भएका छन् । हाम्रो शिक्षा प्रणाली व्यवहारिक, प्रयोगात्मक एवं जीवनोपयोगी छैन भन्ने टिकाटिप्पणी बाक्लै सुनिने गर्छ ।

आखिर हाम्रो शिक्षा कस्तो हुनुपर्थ्यो वा कस्तो हुनुपर्छ ? फिनल्यान्डबाट सिक्ने कि ?

शिक्षा पद्धतीको कुरा गर्नसाथ फिनल्यान्डको प्रसंग आउँछ । फिनल्यान्डको शिक्षा विश्वमै अनुकरणिय र उन्नत मानिन्छ । आखिर त्यहाँको शिक्षा पद्धती कस्तो छ ? त्यहाँ बालबालिकालाई कस्तो शिक्षा दिइन्छ ? कसरी सिकाइन्छ ? विद्यालय कस्ता हुन्छन् ? पठन विधी कस्तो हुन्छ ?

फिनल्यान्डको शिक्षा प्रणाली विश्वकै सबैभन्दा राम्रो मानिन्छ । विश्वभरका विशेषज्ञ, शिक्षाविद्, राजनीतिज्ञ, पत्रकार फिनल्यान्डको शिक्षाबारे बुझ्न त्यहाँ पुग्ने गरेका छन् ।

फिनल्यान्ड सतप्रतिशत साक्षरता भएको मुलुक हो । यहाँका विद्यालय सबैभन्दा अब्बल विद्यार्थी मानिन्छ । यहाँ कुनैपनि विद्यार्थी असफल हुनु भनेको दुर्लभ हो । अपवाद हो ।

फिनल्यान्डमा हामीकहाँ जस्तो पढ्नका लागि पैसा तिर्नुपर्दैन । त्यहाँ शिक्षाको व्यापार छैन । छोराछोरीलाई पढाउनका लागि आमाबुवाले खल्ती रित्याउनु पर्दैन । फिनल्यान्डमा शिक्षा सबैका लागि निशुल्क छ । र, सबैका लागि उपलब्ध छ । विद्यालय मात्र होइन, उच्च शिक्षामा पनि पैसा खर्च गर्नुपर्दैन ।

शैक्षिक सामाग्री अर्थात पुस्तक, कपी र आवश्यक सबै कुरा सरकारले नै उपलब्ध गराउँछ । सबै विद्यालय वा कलेज सरकारले नै सञ्चालन गरेको छ । यहाँ विद्यालय वा शिक्षाको नाममा पैसा कमाउने धन्दा हुँदैन ।

विद्यालयमा बच्चाहरुलाई खानेकुरा दिइन्छ । खानेकुरा पोषिलो र स्वस्थ्यवर्द्धक हुन्छ ।

सही उमेरमा शिक्षा

हामीकहाँ जति सानो उमेरमा विद्यालय पठायो, उत्तिनै राम्रो हुन्छ भन्ने मान्यता छ । बच्चाले चाडै पढाई पुरा गर्छन् र भविष्य बनाउँछ भन्ने लाग्छ । यही धारणका कारण बच्चालाई अढाई बर्ष नपुग्दै विद्यालय पठाइन्छ ।

फिनल्यान्डमा भने बच्चा ७ बर्षअघि विद्यालय पठाइदैन । ७ बर्षपछि मात्र त्यहाँ विद्यालय पठाइन्छ । त्यसबेलासम्म उनीहरुलाई घरमै उन्मुक्त रमाउन दिइन्छ । अर्थात बच्चालाई बच्चा हुन दिइन्छ ।

हुन त त्यहाँ ७ बर्षभन्दा कम उमेरका बच्चाका लागि डे केयर सेन्टर वा पि्र स्कुलको व्यवस्था छ । तर, त्यहाँ पढाई लेखाईको काम पटक्कै हुँदैन । बरु खेल्ने, रमाउने, नयाँ साथी बनाउने कुरामा प्रेरित गरिन्छ । एकअर्कासँग घुलमिल हुने, सहयोग गर्ने बानीको विकास गरिन्छ । त्यसपछि ७ बर्षदेखि १६ बर्षसम्म विद्यालय शिक्षा अनिवार्य मानिन्छ ।

विद्यालय समय

हामीकहाँ विहान आँखा नखुल्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साँझ मात्र घर र्फकन्छन् । फिनल्यान्डमा भने विद्यालय समय एकदमै छोटो हुन्छ । हरेक दिन चार घण्टा मात्र विद्यालय लाग्छ । त्यसमध्ये पनि बेला बेला खानका लागि ब्रेक हुन्छ । यसका साथै बच्चालाई कुनैपनि होमवर्क दिइदैन । लगभग २० जना बच्चालाई एउटा कक्षाकोठामा राखिन्छ ।

शिक्षणः एक सम्माननीय पेशा

फिनल्यान्डमा शिक्षकलाई निकै सम्मानित मानिन्छ । त्यहाँका शिक्षक हामीकहाँ जस्तो जागिरे मानसिकताका हुँदैनन् । जागिर मात्र खाने नभई शिक्षण पेशामै रमाउने र समर्पित हुने गर्छन् । त्यहाँ शिक्षक बन्नु सहज पनि छैन । शिक्षक बन्नका लागि राम्रो योग्यता हुनैपर्छ । साथै प्रेरणादायी प्रवृत्तिको हुन जरुरी छ ।

परीक्षाको तनाव

हामीकहाँ पढाईको मानक नै परीक्षालाई लिने गरिन्छ । जबकी फिनल्यान्डको शिक्षामा परीक्षाको व्यवस्था नै छैन । त्यही कारण फिनल्यान्डका विद्यार्थीहरुले परीक्षाको भय झेल्नुपर्दैन । परीक्षा लिने भन्दा पनि यहाँ सिकाउने तरिकामा बढी ध्यान दिइन्छ । १६ बर्षको उमेरमा जब विद्यालय तहको पढाई सकिन्छ, त्यसबेला मात्र एक पटक परीक्षा लिइन्छ ।

विद्यालयको माहौल

त्यहाँ विद्यालय र पढाइमा प्रतियोगिताको भावना होइन, सहयोगको भावना विकास गरिन्छ । त्यसका साथै त्यहाँ पढाईमा केवल किताबको ज्ञानलाई मात्र सर्वोपरी मानिदैन । बरु व्यवहारिक पढाईमा जोड दिइन्छ । त्यहाँको शिक्षाले विद्यार्थीलाई जान्ने मात्र बनाउँदैन, बरु एक असल व्यक्ति बन्नमा प्रेरित गर्छ ।

Search