नर्वेले जे सिकायो ... प्रा डा विशाल सिटौला - १Op-Ed

सफल हुनका लागि जनमानससँगको सम्बन्ध स्थापित गर्नुपर्छ । आम मानिस तपाईको व्यक्तित्वदेखी प्रभावित भएको हुनुपर्छ । तिनले तपाईसँग सहकार्य गर्न र आपसी विश्वासको सम्बन्ध स्थापित गर्न सक्षम भएको हुनुपर्छ । 
–जोर्ज रोश

नर्वे सुरुमा पुग्दा मलाई अनौठो लाग्थ्यो । म मान्छे भेट्यो कि बोल्ने पारिवारिक र सामाजिक वातावरणमा हुर्केको थिएँ । मलाई बोल्न नपाएर छटपटी हुन्थ्यो । अचम्म लाग्थ्यो किन मान्छेहरू झट्ट बोल्दैनन् ? कुराकानी गर्दैनन् ? मुस्कुराउने त कुरै छाडौँ । कहिलेकाहीँ लाग्थ्यो, यिनीहरूको समय कसरी बित्छ ? तर नर्वे बस्दै जाँदा धेरै कुरा प्रस्ट हुँदै गए । सामाजिक रूपमा जुन प्रकारले एउटा स्थापित रीतिथिति देखेपछि एउटा राम्रो देशको रूपमा मैंले नर्वेलाई स्वीकार गर्दै गएँ । 
मैंले नर्वेको सामाजिक परिपाटीको कुरा बुझन खोज्दा यहाँका मान्छेहरूले काम र समयलाई एकदमै महत्व दिएको पाएँ । आफूलाई परेको वा आफ्नो जिम्मेवारीको काम लगनशीलताका साथ पुरा गर्ने बलियो अठोट उनीहरूमा पाएँ । त्यसमा उनीहरू कुनै कन्जुस्याइँ, ठगी, ढिलासुस्ती, छलकपट गर्न जान्दा रहेनछन् । नेपाली समय हो भन्ने कथा स्कुल बेलादेखि नै सुनेको हुँ । कामकाजको समयलाई खासै महत्व नदिने संस्कृतिबाट हुर्केको मलाई नर्वेजियनहरूको समयलाई लापरवाह नगर्ने संस्कृति लोभ लाग्दो लाग्यो।

सबै संस्कृतिबाट उनीहरुमा रहेका राम्रा कुराहरु आफ्नो मूल्य र मान्यता नगुमाईकन सिक्नु पर्दोरहेछ । किनभने जीवन भनेको सन्तुलनको नाम हो । हामी नेपालीहरुले पारीवारिक र सामाजिक सम्बन्ध, चाडबाड, साथीभाईसँगको सम्बन्धलाई पनि समय दिन जानेका छौं । काम र सामाजिक तथा पारीवारिक सम्बन्धहरुलाई सन्तुलित रुपमा राख्न सकियो भने त्यो अझ राम्रो हुने रहेछ भन्ने मलाई लाग्यो । नर्वेमा बस्दै जाँदा उनीहरुमा रहेको समयलाई महत्व दिने कुरालाई मैंले पनि अङ्गीकार गरें । यसले नै मेरो जीवनको बाटोसजिलो र सन्तुलित बनाउँदै लग्यो । 

मैंले मास्टर डिग्री गर्दा त्यहाँका दुर्गम ठाउँहरूमा माटो र जङ्गलको सर्भे गर्ने काम गर्नुपर्यो । यसक्रममा त्यहाँको टिमसँग लगभग चार महिना जति हिँड्नुपर्यो । त्यसबेला गाउँगाउँ, फरक ठाउँमा, जङगलहरूमा गइयो । त्यो नर्वेजियन टीममा चार–पाँच जना अरू थिए । त्यो समयमा पानी परे पनि हिउँ परे पनि काम रोकिएन । कुन काम कुन साइडहरू आज सक्ने भनेपछि त्यो चाहिँ गरेरै छाड्ने हुँदो रहेछ । पानी पर्यो ।। भोलि गरौंला।। भन्ने जस्ता अलमलको प्रवृत्तिबाट हुर्केको समाजमा यो फिल्डवर्कले नै मलाई धेरै कुरा सिकायो । यसबाट मलाई के लाग्यो भने उनीहरू सधै नतिजामा विश्वास राख्ने रहेछन् । कामलाई फत्ते गर्ने ध्याउन्नमा उनीहरूको एकोहोरो विश्वास हुने रहेछ । 

पछि पीएचडी गर्ने क्रममा पनि मैंले आफनो प्रोफेसर गुनार अब्राहमसँग जङ्गल जङगल गएर त्यही खालको कामहरू गर्नुपर्यो । उनी भन्थे— वास्तवमा हाम्रो अफिस त आठ बजेदेखि तीन–चार बजेसम्म हो । तर फिल्डमा यी सबै कुरा लागू हुँदैनन् । बिहान छ बजे हिँड्ने योजना गर्दा आधा घण्टाअघि नै उहाँ तयार भइसक्नुहुन्थ्यो । मभन्दा उनीहरु धेरै उमेर खाइसकेका थिए । ६ बजे हिँड्ने भन्दा ५ मिनेटअघि नै सबै बाहिर निस्किसकेका हुन्थे । सुरुमा मलाई यसमा एडजस्ट हुन निकै कठिन भयो । मलाई लाग्थ्यो, यिनीहरू कसरी आफ्नो समय व्यवस्थापन गर्छन् ?

काम गर्ने कुरामा उनीहरू शतप्रतिशत गर्ने प्रयास गर्छन् । पढ्दाखेरि फिल्डमा एकपटक जमीनमा एउटा खाल्डो खन्नुपर्ने काम आयो । त्यहाँ एउटा निश्चित आकारको खाल्डो बनाएर त्यहाँको माटो अध्ययन गर्नु थियो । मैंले आफ्नै नेपाली काइदामा खाल्डो गहिरो त बनाएँ । खनिनुपर्ने खाल्डो स्क्वायर भन्दाभन्दै मैंले त्यसलाई बेवास्ता गरेछु । डेप्थ त भयो तर।। बूढा प्रोफेसरले हाँसेर भने । मैंले कुरा बुझिहालेँ । भनेको कुरा राम्रो सुन्ने र त्यसलाई जस्ताको तस्तै गर्ने कल्चर नर्वेजियनहरूको छ । उनीहरू एउटै कुरा धेरै पटक दोहोर्याउनुलाई राम्रो मान्दैनन् । हामी नेपालीहरूमा एउटै कुरा बारबार भन्ने चलन छ । धेरै नभनी कसैले सुन्दैन र टेर्दैन भन्ने बानी भइसकेको छ । तर नर्वेजियनहरूलाई यस्तो कुरा मन नपर्ने रहेछ । 

मैंले नर्वेमा देखेको अर्को राम्रो कुरा मानिसहरूबीचको समानता पनि हो । त्यहाँका कार्यालयहरूमा कोही हाकिम र कारिन्दाबीचको भेदभाव छैन । प्रोफेसरहरूको अफिसको साइज सुविधा र कुनै एउटा सामान्य अफिसर होस् अथवा झन्डै झन्डै पीएचडी विद्यार्थीले पाउने सुविधामा कुनै फरक छैन । काम अलगअलग छ, आफ्ना जिम्मेवारीहरू छन् सबैको मनमा जिम्मेवारी मात्रै हुन्छ । सबैका आ–आफ्नैभूमिकाहरुछन् । आफ्नो योग्यता र क्षमताअनुसार मानिसहरू काम गरिरहेका हुन्छन् र त्यहाँ स्ट्याटसको समस्या छैन । 

समाजमा हुने दोधारे खालको सोचाइले प्रगतिलाई असर गर्दछ भन्ने कुरा पनि मैंले यहाँबाट बुझेँ । आफै स्वावलम्बी हुने, आफ्नो काम आफै गर्ने, यो मेरो काम हो, यो मेरो जिम्मेवारी हो भन्ने कुरा सबैमा छ । अरूलाईनकारात्मक असर हुने काम गर्नु हुँदैन भन्ने सोच सबैमा छ । सानोसानोकुरामा सोधिराख्ने आफूमाथिका मान्छेको आदेश पर्खिराख्ने बानी पनि मान्छेमा छैन ।


प्रा. डा. विशाल सिटौलाको 'संसार एक पाठशाला' पुस्तकबाट

Search