नर्वेमा जे सिकियो ... प्रा डा सिटौला - २Op-Ed

नर्वेमा मैंले सिकेको कुरा आपसी विश्वास पनि हो । जहाँ जनताहरूलाई सेवा दिन बस्ने निकायहरू हुन्छन् त्यहाँका मानिसहरू सहयोगी हुन्छन् । नर्वेमा बसोबास गर्ने मानिसहरूका धेरै किसिमका आइडेन्टिटी हुन्छन् । यो मान्छे यो समाजमा बस्छ भन्ने भएपछि उनीहरू विश्वास गर्छन् । समाज नियमकानूनले भन्दा पनि विश्वास र इमान्दारिताले चल्दोरहेछ भन्ने कुरा त्यहाँ देख्न पाइन्छ । त्यहाँ कतिसम्म अरूप्रति विश्वास गरिन्छ भने कुनै कार्पेन्टरलाई बोलाएर काम गर्न दिएको छ भने त्यो मान्छेले राम्रै काम गर्छ भनेर करिब करिब ९९ प्रतिशत विश्वास गरे हुन्छ । त्यसले जथाभाबी काम गरेर छोड्ला भन्ने मानिसहरूले सोच्दैनन् । अर्को कुरा लेनदेनको कुरामा जसले काम गरेको हो उसलेआफ्नो आफ्नो खाता नम्बर दिएर जान्छ अनि मान्छेले पैसा पठाउँछ । कसैले पैसा लिएर काम नगरी भाग्ला कि भन्ने कुरा कसैले सोच्न पनि सक्दैन । त्यसकारण विश्वास र इमान्दारिताको एउटा राम्रो उदाहरण भएको देशको रुपमा पाएको छु मैंले नर्वेलाई । 

पढाइमा पनि यहाँको जस्तो घोकन्ते विद्या घोकेर किताबमा कस्तो लेखेको छ जस्ताको तस्तै लेख्ने हैन, उसले त त्यसको सारांश बुझेरआफ्नै भाषामा लेखे हुन्छ । त्यसको जुन मुल्याङ्कन हुन्छ त्यो पनि एक प्रकारले यति सफा हुन्छ कि दुई जनाले अलग अलग रुपमा स्वतन्त्र रुपले मुल्यांकन गर्दछन् । जुनसुकै परीक्षामा पनि यसले परीक्षा दिएको भनेर त्यो पहिले थाहा हुँदैन । समग्रमा भन्दा त्यहाँ योग्यता र क्षमतालाई सिकाइमा दाँजेर हेरिन्छ । वास्तवमा मान्छेलाई नचिनुन्जेलसम्म नर्वेजियनहरूले दुरीमा राख्छन् तर छेउछाउमा छिमेकमा चिनाजानी भइसकेपछि एकले अर्कालाई मद्दत गर्ने चलन छ । उनीहरू व्यक्तिगत जीवनको कुरा गरेको राम्रो मान्दैनन् । उनीहरूको भित्री कुरामा आफूले चासोराख्नु पनि हुँदैन ।  भित्र कहाँ केके भैराखेको छ भनेर चियोचर्चो गर्ने बानी हामीकहाँ छ, यो धेरै गलत हो भन्ने कुरा मैंले नर्वेमा सिक्ने मौका पाएँ । नर्वेमा आफूभन्दा तलको मान्छेलाई होच्याउने प्रवृत्ति नभएको हुनाले सामाजिक सम्बन्ध राम्रो छ । अर्को कुरा आर्थिक रूपले कुनैै वर्ग नदेखिने देशको रुपमा पाएको छु मैंले नर्वेलाई । 

आर्थिक समानताले गर्दाखेरि मान्छेहरूमा कोही ठूलो या सानो भन्ने भाव नै छैन । मान्छेहरू अरूको ईष्र्या गर्दैनन् र अरुको सम्पत्ति वा सुविधाको बारेमा लोभ गर्दैनन् । आफ्नो काम इमान्दारिताका साथ गर्ने कुरा सबैमा जिम्मेवारीवोध हुने रहेछ । त्यहाँ ठूलो सानोको कुरा छैन, यस्तो समाज भनेको वास्तवमा स्वर्गीय समाज हो । ब्रह्मकुमारी सम्प्रदायमा एउटा स्वर्गको परिभाषा छ “जहाँ राजा र दासले एउटै किसिमकोश्रीपेच लगाएका हुन्छन् ।” त्यसको उदाहरण मैंले नर्वेमा पाएँ । सहरभन्दा अलि पर गाउँका फर्महरूमा जाँदा आलु बेच्न राखेका हुन्छन् तर त्यहाँ कोही नभएको पनि हुन सक्छ । मान्छेहरू जान्छन् र पैसा डालामा राखिदिएर आलु बोकेर ल्याउँछन् । त्यतिसम्म अर्काको विश्वास गरिन्छ त्यहाँ । त्यहाँका नेसनल पार्कहरूमा हामी गयौँ भने त्यहाँ आफँैले पैसा हालेर भित्र पस्नुपर्ने हुन्छ ।  पैसाले टोकरी वा डालो भरिन लागेपछि कोही सम्बन्धीत मान्छे आउँछ र उठाएर लैजान्छ । 

हामीकहाँ बच्चाहरूलाई खाना खान खुवाउन दबाब दिनका लागि पनि “खा बाबु खा” हैन भने पुलिस आउँछन् भन्ने गर्छन् । त्यहाँका विद्यालयहरूमा भने प्रहरीलाई समाजका सहयोगीको रूपमा बच्चैदेखि सिकाईन्छ । त्यहाँका प्राथमिक विद्यालयहरूमा समेत प्रहरीको भ्यान ल्याएर पुलिससँग राखेर फोटो खिच्ने एउटा सेसन नै राखिन्छ । प्रहरीहरूलाई सानैदेखि सहयोगी र रक्षकको रूपमा बच्चाहरूले चिन्दछन् । आपत्विपत्को साथीको रूपमा बच्चाहरूले बुझ्छन् । 
 

विद्यालय प्रणालीमा केटाकेटीलाई जुन प्रकारको स्वावलम्बी बनाउने शिक्षा दिइन्छ, त्यसले त्यहाँको सामाजिक परिवेश मजबुत बनाएको छ । शिक्षाले नै उनीहरूलाई धेरै जीवनोपयोगी कुराहरू सिकाउँछन् । खाली किताबी ज्ञान मात्र होइन कि त्यसलाई जीवनोपयोगी बनाउने कुरालाई त्यहाँ जोड दिइन्छ । त्यसैले नर्वेजियन बच्चाहरूले हाइस्कुल पास गरिसकेपछि आफूलाई मन परेकोविषय पढ्छन् । त्यसमा अभिभावकहरूले खासै दबाब दिँदैनन् । 

नर्वेमा रहेकोकाम गने संस्कृतिप्रति म कृतज्ञ छु । विश्वविद्यालयका माध्यमबाट मैंले संसारका दर्जनौँ देशहरूमा कति परियोजनाहरू चलाएँ, सानो कुराका लागि कहिल्यै पनि मैंले डीन, हेड अफ द डिपार्टमेन्टसँग व्युरोक्रेसीको टप डाउन अनुभव गरिनँ । कतिपय देशहरूमा अप्ठ्यारा खालका मान्छेहरू पनि हुन्थे र भेटका बेला यस्तो वातावरणका बारेमा म प्रो। रुथहगलाईआफ्नो अनुभव सुनाउँथेँ । उनी भन्थे— विशाल, त्यही भएर त हाम्रो यहाँ जरुरी छ । हामीले आफू माथि उठेर उनीहरूसँग काम गर्नुपर्छ । यो कुरा मलाई दिव्य वचनजस्तै लाग्थ्यो । सामाजिक अनुशासन, कामप्रतिको जिम्मेवारी र दायित्वबोध, समयको महत्वलाई सदुपयोग गर्दा नै नर्वे संसारकै सवल देशको रूपमा मानिन्छ । त्यस देशमा बिताएका तीनदशक जीवनको सिकाइका लागि महत्वपूर्ण पाठ बनेका छन् । 


प्रा. डा. विशाल सिटौलाको 'संसार एक पाठशाला' पुस्तकबाट

Search